A+ A A-

पहिलो प्रधानसेनापति विराज थापा मगरका सन्तान नेपाली सेनामा छन्


प्रेमसिँह बस्न्यात, पिएचडी
 
परिवेश
नेपालको इतिहास हजारौं वर्ष पुरानो भएर पनि हालसम्म नेपाल कुन कुन काख खण्डमा कत्रो थियो र नेपाल नाम कसरी रह्यो किटानी प्रमाण फेला पार्न सकिएको छैन । संसारको मान चित्रमा अन्य मुलुकहरुको भौगोलिक सिमा परिवर्तन हुने र कहिले त देस नै लोप हुने दृष्टान्त हेर्ने हो भने नेपाल पनि विभिन्न काल खण्डमा विशाल नेपाल टुकि्रएको नेपाल र एकिकृत नेपाल पाउँछौं । हामी र हाम्रा पूर्वजहरुले समेत विशाल नेपाललाई समेटेर इतिहास बनाउन सकेका छैनौं भने केबल गोर्खा राज्यको विस १६१६ देखि यहाँको आंशिक इतिहास भेटिन्छ । त्यसमा बाइसे-चौवीसे राज्यलाई भरपर्दो रुपले इतिहासमा समेटिएको छैन । त्यहि क्रममा यस लेखकले पनि विस १६१६ देखिपछिका गोर्खा राज्य अन्तरगत नेपाली सेनामा काम गरेका ज्ञात मगर व्यक्तिहरुको बारेमा मात्र २-४ शब्द प्रष्ट्याउने प्रयास गरेको तथ्य जाहेर गर्दछ ।

सिमितता
 
यस प्रस्तुतिकरणले लेखकको नजरमा नेपाली सेनाको इतिहासबाट थाहा हुन आएका ज्ञात मगर व्यक्तिहरुको बारेमा मात्र समेट्ने छ भने यसमा लेखिएका सम्पूर्ण विवरणप्रति लेखक व्यक्तिगत रुपमा जिम्मेवार रहनेछ ।  



सैनिक महत्वका ऐतिहासिक मगर व्यक्तित्वहरु 


१ गंगाराम राना मगर 
लमजुङको राजकुमार द्रव्य शाह विस १६१६ भाद्रवदी अष्टमी तिथी रोहीणी नक्षेत्र बुधवारको दिन लिगलिगकोटको राजा भए । सोही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरु सर्वेश्वर खनाललाई राज पुरोहीत गणेश पाण्डेलाई प्रशासन हेर्न मन्त्री भगीरथ पन्तलाई सेनापति केशव बोहोरलाई भूमि विभागको प्रमुख तथा गंगाराम राना मगरलाई प्रधानन्यायाधिस न्याय विभाग प्रमुख नियुक्त गरेका थिए । १
प्रशासन हेर्ने १ सेना हेर्ने १ भूमि सम्बन्धित हेर्ने १ तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी मन्त्री को व्यवस्था भएको थियो । यो प्रथापछिसम्म पनि रह्यो । त्यहि मितिबाट सैनिक संगठन खडा भएकोले तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना हो । यसर्थ नेपाली सेना विस १६१६ मा खडा भएको हो भने नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन । उतिखेर सेनापतिलाई प्रधानसेनापतिको जिम्मेवारी दिइन्थ्यो । त्यसबेला लिगलिगकोट उपल्लोकोट र तल्लोकोट गरी ३ वटा साना भुरे राज्य थिए । ती सबैलाई राजा द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई गोर्खा नामाकरण गरेर गोर्खा राज्य स्थापना गरिएको थियो । 


२ लखन थापा (प्रथम)
यी गोर्खाका राजा रामशाहको पालाको जल्दोबल्दो काजी थिए । उनको भूमिका राजा रानीको अंरक्षक भएको पनि बुझिन्छ भने उनको सैनिक भूमिका पनि त्यत्तिकै महत्वपूर्ण थियो । पछि उनी धर्मभीरु महात्मा बनेका र उनकै सपना अनुसार हाल गोरखा मनकामना देवी उत्पत्ति भएको थलो फेला परेको भन्ने पनि देखिन्छ । 


३ जयन्त राना
यी गोर्खाका राजा नरभुपाल शाहको प्रधानसेनापति काजी थिए । नरभुपाल शाहको पालामा कान्तिपुर राज्यको नुवाकोटमाथि गरिएको हमलाको नाइके यिनै थिए । उक्तयुद्ध असफल भएपछि दरवारीय अन्य भारदारहरुको विभिन्न लान्छनाबाट काजीबाट हटाइयो र त्यसपछि उनले कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजमा काम गर्न थाले । २ पछि उनी  नुवाकोट किल्ला कै प्रमुख बसेका थिए ।


शंखमणि राना
यी जयन्त रानाका छोरा थिए भने कान्तिपुर फौजमा आफ्नै पिताको मातहतमा जागिरे थिए ।३ जयन्त राना काम विशेषले कान्तिपुर गएका बेला शंखमणि नुवाकोट किल्लाको प्रमुख भईबसेका बेलामा पृथ्वीनारायण शाहले नुवाकोटामाथि हमला गरी विजय प्राप्त गरे भने शंखमणि यसैयुद्धमा विस १८०१ मा मारिए ।


५ काजी विराज थापा मगर (विस १८००-१८०१)
राजा रामशाहको पालादेखि नै मनकामनाका थापा मगरहरुले गोर्खा दरवारको मन जितेका थिए । ती मगर सन्तानको क्रमिकता पछिसम्म भै पृथ्वीनारायण शाहको पालासम्म थियो । काजी विराज थापा मगरहरु गोर्खाका राज परिवारका ददा भएको धेरै दृष्टान्त भेटिन्छ । जुन पक्ष पारिवारिक वा एकै परिवारको जस्तै सम्बन्ध हो । तीनीहरुकै सन्तान विराज थापा मगर पृथ्वीनारायण शाहले पहिलो पटक नुवाकोटमाथि हमला गर्दाका सेनापति थिए । विराज थापा लाह्यु वा लाहे मगर थिए । उनी गोर्खाको भाङरा भन्ज्याङ बुङकोट इलाकामा जन्मेको बुझिन्छ ।४  गोर्खा मनकामनाबाट उनको वुवापछि बुङकोट बसाई सरेका थिए । राजा नरभूपाल शाहको पालामा नुवकोटमाथि भएको हमलामा गोर्खा दरबारका सेना नायकहरु पन्त र मगर महेश्वर पन्त र जयन्त राना मगरवीच एकता कायम हुन नसक्दा गोर्खाली सेनाको हार र क्षति भएको थियो । भने जयन्त रानालाई पद च्यूत गरी कारवाही गर्न खोजिएकोले जयन्त राना भागी कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजमा भर्ना हुन पुगे । जसबाट गोरखाकाली फौजका मगर जातीहरुप्रति असन्तोष फैलियो । यो कुरा राम्रोसँग बुझेका पृथ्वीनारायण शाहले मगरहरुप्रति सदभाव राखेका थिए र मगरहरु पनि सोझा र गोरखा दरबारप्रति साह्रै निष्ठ थिए ।


पृथ्वीनारायण शाहले विराज थापा मगरलाई सेनापति बनाई तुरुन्तै नुवकोटमाथि हमला गर्न आदेश दिए ।५  नेपालको इतिहासमा कालुपाण्डेलाई पहिलो प्रधानसेनापति र काजी बनाइएको छ पृथ्वीनारायण शाहको राज्यकालमा । तर त्यो कसरी भयो  पृथ्वीनारायाण शाहले नुवाकोटमा पहिलो पटक आक्रमण गर्नको लागि विराज थापा मगरलाई सेनापति बनाएको होइन भन्ने तथ्य देखाउन जरुरी छ । लडाईको पूर्ण तयारी नभएकाले विराज थापा मगर तयारी गर्न तर्फ लाग्दा तुरुन्त हमलामा जान सकेनन् । यहि मौका फाइदा उठाई महेश्वर पन्तले राजालाई भेटी विराज थापा मगर लडाईमा जान डरायो । मलाई सेनापति बक्सेमा तुरुन्त हमला जान्छु भनेकोले पृथ्वीनारायण शाहले पत्याई विराज थापालाई सेनापतिबाट हटाई महेश्वर पन्तलाई सेनापति बनाए । महेश्वर पन्तको भनाईलाई विश्वास गरेर हमलाको लागि हतारिएका २० वर्षे राजा पृथ्वीनाराण शाहले लडाई गरिहाले । तर उक्त लडाई हारेपछि विराज थापालाई सेनापतिबाट हटाएकोमा पश्चताप गरेका थिए । 


महेश्वर पन्तको नेतृत्वमा नुवाकोटको युद्ध हारेपछि पृथ्वीनरायण शाहले फेरी पनि विराज बखती थापा मगरलाई काजी दिने निर्णय गरे । तर उनले भारदार र जनताको सल्लाह माग्दा कालु पाण्डेलाई काजी दिँदा राम्रो हुन्छ भन्ने सुझाव आएकोले सोही अनुसार उनको सट्टा कालु पाण्डेलाई काजी बनाएको थियो । दिव्य उपदेश ती विराज थापाको सन्तानहरु हाल मनकामनादेवीको पुजारी भएर काम गरिरहेको बुझिन्छ । तीन मध्येका सहायकरथी  लोकबहादुर थापा मगर पनि एक हुन ।

  
६ काजी सर्वजीत राना मगर  (विस १८४२ तीन महिना)
विस १८३४ मा राजा प्रतामसिँह शाहको मृत्यु भएपछि  मुमा महारानी तथा वालक राजा रणबहादुर शाहका नायवी राजेन्द्रलक्ष्मीले सर्वजित राना मगरलाई प्रमुख काजी बनाई सेनाको कार्यभार दिइन । राजा द्रव्य शाहको पालादेखि नै उनको सन्तानले गोर्खा दरवारमा काम गरेको बुझिन्छ उनी विस १८१० तिर जन्मेको अनुमान गरिएको थियो ।६ विसन १८३४ मंसिरमा प्रतापसिँहको देहान्त भएपछि अडाई वर्षका रणबहादुर शाह राजा भए । त्यहि साल पुषमा वेतीयामा निर्वासित जीवन बिताईरहेका बहादुर शाह पनि काठमाडौं झिकाईए । करिब ६ महिनासम्म राजेन्द्रलक्ष्मी र बहादुर शाहको संयुक्त नायबीमा देशको शासन चल्न लाग्यो । बहादुर शाह आफ्नो पिता पृथ्वीनारायण शाहको एकिकरण पश्चिमतर्फ जारी राख्न चाहन्थे भने राजेन्द्रलक्ष्मी एकिकृत प्रदेशको व्यवस्थापनमा रहन चाहन्थिन । बाबुराम आचार्यले नवयौवना महारानी राजेन्द्रलक्ष्मी निकै विलासी र ऐयासी भईन र आफू घोडामा सवार भई केही सुसारेलाई पनि ठाँटवाँटका साथ घोडामा सवार लगाई हिँड्ने समाजले नपचाउने उत्ताउला काम गरिन भनी लेखेका छन् ।७ काजी सर्वजीत राना मगरका मद्दतले राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई बन्दी बनाइन् तर केही महिनापछि गुरु गजराम मिश्रले अनुरोध गरेपछि रिहा गरिदिइन् । पृथ्वीनारायण शाहका विश्वस्त भारदार श्री हर्ष पन्तले चारजना केटा कमरालाई पोलाहा बनाई राजेन्द्रलक्ष्मीलाई सर्वजीत रानामगरसँग अनैतिक सम्बन्ध भएको बात लाग्यो । पृथ्वीनारायण शकहका भाई दलजीत  शाहले मुमा वडा महारानीसँग लसपस गरी यौन सम्पर्क गरेको भन्ने बता लगाई सर्वजीत राना गमरलाई हनुमानढोका राजदरबार भित्रै कटाई मारिदिए । राजेन्द्रलक्ष्मी पनि चाँदीका हत्कडी लगाई दरबारभित्र नजरबन्द भईन् । केही इतिहासकारले सर्वजीत राना मगरलाई बहादुर शाहले मार्न लगाएका हुन् भनेका छन् । त्यसबखत बहादुर शाह गोर्खामा थिए । उक्त कुरा दलजीत  शाहले गरेको हो भनि अरुले लेखेका छन् ।८  


क्रमशः 
सन्दर्भसूचि 
१ गौतम बज्राचार्य र देवीप्रसाद भण्डारी, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको उपदेश, पृष्ठ ५४६-४७  
२ बाबुराम आचार्य तथा योगी नरहरी नाथ/बडामहाराजधिराज श्री ५ पृथ्थीनारायण शाहको दिव्य उपदेश, काठमाडौं,श्री कृष्ण आचार्य,विस २०१६,पृष्ठ ७ 
३ तुलसीराम वैद्य तथा अन्य/ नेपालको नेपालको सैनिक इतिहास भाग २, काठमाडौं /नेपाली जंगी अड्डा, विस २०६५, पृष्ठ २३८ 
४ दण्डपाणी अर्याल, गोरखाको ऐतिहासिकता,ज्ञानविन्दु वर्ष १ अंक १ २०६२, पृष्ठ ७-१२ 
५ प्रेमसिँह बस्न्यात, शाही नेपाली सेना र प्रधानसेनापतिहरु, काठमाडौं लक्ष्मी बस्न्यात तथा सर्वोच्चमान बस्न्यात, २०५३ ,पृष्ठ ३२ 
६ प्रकाश ए राज, महारानी राजेन्द्रलक्ष्मी,काठमाडौं ,नवीन पब्लिकेसन ,२०६२ , पृष्ठ १३
७  प्रकाश ए राज, महारानी राजेन्द्रलक्ष्मी, काठमाडौं, नवीन पब्लिकेसन२०६२,पृष्ठ २२
८ बाबुराम आचार्य, श्री प्रतापसिँह शाह, पृष्ठ १३७ 


(नेपाली सेनाको इतिहासमा विद्यावारिधी गरेका प्रेमसिँह बस्न्यातले मगर अध्ययन केन्द्रको कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्र नेपाली सैनिक इतिहासमा मगरहरुको देन को पहिलो भाग ।)

 

प्रतिक्षा गर्नुहोस् -------
१ नेपाल एकिकरण र अंग्रेज युद्धमा बहादुरी देखाएका जोहरसिँथ थापा मगर
२ नालापानी किल्लामा अंग्रेजसँग भएको भएको लडाईमा जमदार सिँहवीर घर्तिमगर 
३ पहिलो जनरल कमाण्डर इन चीफ अभिमानसिँह राना मगर
४ भोटको लडाईमा नेतृत्वदायी भूमिका खेल्दा खेल्दै वीरगति प्राप्त गरेका प्रतिमान राना
५  शान्ति सेनामा वीरगति प्राप्त गर्ने मगरहरु

६ प्रथम सहिद लखन थापा मगरको विषयमा बस्न्याताको आलोचानात्मक विश्लेषण । 
बाँकी भागमा प्रस्तुत गर्ने छौं ।
 

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर