A+ A A-

मुक्ति सेनाबाट आइजिपी हुँदै राजदूतसम्म

नेपाल प्रहरीको ६० वर्षे इतिहासमा धेरैले सम्झिरहने एउटा नाम हो खड्गजित बराल । ०२९ देखि ०३५ सम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका बराल पछि राजदूतदेखि राष्ट्रिय पञ्चायतको सदस्यसम्म भए । युवा उमेरमै आइजिपी भएका बरालले ती दिन यसरी सम्झिरहेकाछन् ।  

भैरहवा जेलमा चार महिना २००७ सालको नेपाली कांग्रेस, राजा त्रिभुवन र राणाशासकबीच दिल्लीमा सम्झौता भयो । तर, त्यो सम्झौताले कांग्रेसका सबै नेता–कार्यकर्तालाई खुसी बनाउन सकेन । मुक्तिसेनामा भैरहवा मोर्चाका कमान्डर रहेका केआई सिंहले कांग्रेसले पूर्वनिर्णयविपरीत सम्झौता गरेको भन्दै सशस्त्र संघर्ष जारी राख्ने घोषणा गरे ।

त्यसअघि पनि बराल केआई सिंहकै कमान्डमा खटिएका थिए । पछि पनि उनले केआइसिंहकै ‘लाइन’ माने, दिल्ली सम्झौतालाई धोका भन्दै संघर्षमै खटिए । ‘बिहारको बहरगनियामा भएको कांग्रेसको सम्मेलनमा ‘डु अर डाई’को निर्णय भएको थियो,’ बराल भन्छन्, ‘तर, त्यसविपरीत पार्टीले दिल्लीमा सम्झौता गरेपछि हामीले संघर्ष जारी राख्ने निर्णय गर्‍यौँ । सम्झौता गर्नुहुन्न, लडेरै प्रजातन्त्र ल्याउनुपर्छ भन्दै हाम्रो भैरहवा मोर्चाले संघर्षलाई निरन्तरता दिने भयो ।’

देशमा प्रजातन्त्र आएको घोषणा भयो, तर बराल सम्मिलित मोर्चा संघर्षमा उत्रियो । चार महिनासम्म सशस्त्र संघर्ष जारी राखेको बराल मोर्चालाई नियन्त्रणमा लिन सरकारलाई हम्मेहम्मे पर्‍यो । आफ्नो शक्तिले नसकेपछि सरकारले संघर्ष गरिरहेको समूहलाई समात्न भारतीय सेनाको सहयोग लिने भयो । ठूलो संख्यामा भारतीय सैनिक भैरहवा आए । बराल त्यो घटना सम्झन्छन्, ‘डेढ घन्टाजति त भारतीय सैनिकसँग पनि भिडन्त भयो, तर उनीहरूको फौज धेरै ठूलो थियो । हामीले लड्न सकेनौँ, आत्मसमर्पण गर्नुपर्‍यो ।’ आत्मसमर्पण गरेको बरालको समूहलाई जेल चलान गरियो । चारमहिने जेल जीवन बिताएर बाहिर निस्कँदा बराल २० वर्षका थिए । प्रजातन्त्र स्थापना गर्ने भन्दै कांग्रेसको गुरिल्ला दस्ता मुक्तिसेनामा काम गरेका बरालले राजनीति छाडे, पढाइलाई रोजे ।

बिपीको संगत र सशस्त्र संघर्ष त्यतिवेला भारत बेलायतको उपनिवेशमा थियो । बरालका बुबा ब्रिटिस भारतीय सेनामा अधिकृत थिए । त्यसैले बरालको बाल्यकाल गोरखपुरमा बित्यो । त्यतिवेला नेपालमा राणाशासनविरुद्ध आन्दोलन चर्किसकेको थियो । बरालका बुबालाई भेट्न बिपी कोइराला, मातृका कोइराला, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराईजस्ता नेताहरू आइरहन्थे । यसले उनलाई पनि सानै उमेरमा ठूला नेताहरूसँग चिनजान गरायो । बिस्तारै उनीहरूसँगको संगत झ्याँगिन थाल्यो ।

कहिले आर्थिक सहयोग तर कहिले अन्य सहयोगका लागि कांग्रेस नेताहरू घर आउन गरेको ती दिन अहिले पनि बरालको स्मृतिमा ताजै छ ।

के ती नेताले किशोर अवस्थामै सशस्त्र संघर्षमा लाग्न बराललाई प्रेरित गरे त ?

‘होइन, मैले त्यतिवेला राजनीति बुझेको थिइनँ । म कांग्रेसले गरेको आन्दोलनबाट प्रभावित भने थिएँ, देशमा राणाशासन गलत हो भन्ने मेरो बुझाइ थियो,’ बराल सम्झिन्छन् । बराल त्यतिवेला देशको स्थिति देखेर मुक्तिसेनामा लागे । तर, उनलाई लागेको त्यो ‘सत्मार्ग’ परिवारमा स्वीकार्य भएन । ‘बुबालाई नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ भन्ने थियो, त्यसका लागि सहयोग पनि गर्नुभयो,’ उनी भन्छन्, ‘तर, बुबा भन्नहुन्थ्यो– पढ्ने उमेरमा यो कुबाटोमा लाग्यो ।’ बुबाको रिस अहिले पनि सम्झन्छन् बराल ।

तर, त्यतिवेला बुबाको रिसलाई जितेको थियो उनको ‘प्रजातन्त्र सपना’ले । भैरहवा जेलबाट छुट्दा पनि बरालले बुबाको रिस बिर्सिएका थिएनन् । ‘त्यसले पनि प्रभाव पार्‍यो होला,’ उनी भन्छन्, ‘जेलबाट निस्किएपछि मैले पढ्ने निर्णय गरेँ ।’ तर, उनका बुबाको रिस मरेको थिएन । पहिले पढेन भनेर रिसाएका बरालका बुबाले अब पढ्नका लागि खर्च नदिने भए । तर, दृढ इच्छाशक्तिलाई केले रोक्ने ? बराल आफन्तलाई गुहार्न गए, उनीहरूसँग खर्च मागे । र, पुगे आग्रा विश्वविद्यालय । तर, कलेजमा पनि उनको मन पढाइभन्दा खेलकुदमा बढी रमायो । फुटबल र हकीमा ध्यान दिन थाले । क्याम्पसका चर्चित खेलाडीसमेत थिए ।

(बाँया बाट पूर्ब आइजिपी खड्गजित बराल,प्रा.डा. केशरजंग बराल र हुम थापा, बराल झुप्रोमा) 

काठमाडौंमा भर्ना, भारतमा तालिम भारतको पटनामा एमएम पढेपछि ०१२ सालमा बरालले नेपाल फर्किने निर्णय गरे । त्यतिवेला नेपाल प्रहरी पुनर्गठन गरिएको लामो समय भएको थिएन । उनलाई नेपाल प्रहरीमा काम गर्ने रहर थियो । साथीभाइ सल्लाह–सुझाब दिन्थे, त्यो रहरमा उत्साह भर्थे । नेपाल प्रहरी पनि प्रारम्भिक चरणमा थियो । संयोग, बराल नेपाल आउँदा लोक सेवा आयोगले प्रहरीका लागि इन्स्पेक्टरमा भर्ना खुलायो । त्यतिवेला लिखित र अन्तर्वार्ता मात्र हुन्थ्यो, शारीरिक परीक्षण हुँदैनथ्यो । बरालले परीक्षामा सफलता हात पारे ।

‘अन्तर्वार्ताको समय अहिले पनि याद छ, लोक सेवा आयोगका अध्यक्ष नगेन्द्रमणि दीक्षित हुनुहुन्थ्यो,’ बराल भन्छन्, ‘उहाँले किन प्रहरीमा भर्ना हुने भनेर सोध्नुभयो, मैले प्रहरीमा काम गर्ने मन छ भनेँ ।’ तर, बरालको यो निणर्यमा पनि उनका बुबा निश्चिन्त थिएनन् । ‘तँ एक वर्ष पनि प्रहरीमा टिक्दैनस् भन्नुभएको थियो,’ बराल सम्झन्छन्, ‘अरूलाई सलाम गरेर अनुशासनमा बस्न सक्दैन भन्ने बुबालाई लागेको थियो । आखिर मेरो स्वभाव पनि त्यस्तै थियो ।’

त्यतिवेला प्रहरीलाई नेपालमै तालिम दिने व्यवस्था पनि थिएन । तालिमका लागि भारत पठाउने गरिन्थ्यो । बराललाई पनि भारतीय प्रहरीको एकेडेमीमा पठाइयो । भारतमै एक वर्ष तालिम गरेर फर्किएपछि उनको प्रहरी हेडक्वार्टरमा पोस्टिङ भयो । करिब तीन वर्षपछि डिएसपीमा बढुवा भयो, उनलाई भैरहवामा खटाइयो । भैरहवा त्यही ठाउँ हो जहाँ उनलाई चार महिना जेल राखिएको थियो । उनी भैरहवामा कार्यरत रहेकै वेला राजा महेन्द्रले शासन हातमा लिएका थिए । पहिलाका उनका साथीहरू अब उनका दुस्मन हुन थाले ।

त्यतिवेला नेपाल प्रहरीको ‘सिनियर’ तहमा इन्स्पेक्टर, डिएसपी, एसपी, डिआइजी र आइजिपीको मात्र पद थियो । डिएसपी भएको केहीपछि उनको एसपीमा बढुवा भयो । उनलाई प्रहरीले नेपालगन्जमा पोस्टिङ गर्‍यो । केही समयमा उनको फेरि बढुवा भयो, तर स्थान फेरिएन । उनी नेपालगन्ज नै बसे । सात एरियामध्ये सात नम्बर एरियाको इन्चार्जका रूपमा उनले काम गरे । १६ वर्ष अवधिमै आइजिपी प्रहरीमा जागिर खाएको १६ वर्षको अवधिमै उनले आइजिपी हुने मौका पाए । ०२९ सालमा उनी आइजिपी भए । अहिले आइजिपीमा बढुवा हुन ठूला संघर्ष भएको सुनिन्छ । तर, त्यतिवेला संघर्ष होइन, नियम पहिलो आधार बन्थ्यो ।

‘अहिले धेरैले पत्याउँदैनन् होला, मेरो बढुवा हुन्छ भन्ने आफैँलाई थाहा थिएन,’ त्यसवेला प्रहरी एकदमै अनुशासित ढंगले चल्ने गरेको उनले बताए । ०२९ देखि ०३५ सालसम्म उनी प्रहरी महानिरीक्षक भए । यो अवधिमा नेपाल प्रहरीलाई आधुनिक युगतर्फ डोर्‍याएकाले अहिले पनि उनको प्रहरीमा प्रशंसा हुन्छ ।

‘पहिलेदेखि नै प्रहरीलाई नैतिकवान् बनाउनु मेरो उद्देश्य थियो,’ उनी भन्छन्, ‘आइजिपी भएपछि पनि मैले त्यही कुरालाई मूर्त रूप दिएँ ।’ त्यसवेला सिपाहीको तलब करिब ३० रुपैयाँ थियो । रासनको सुविधा पनि थिएन । युनिफर्मसमेत उधारोमा किनेर लगाउनुपर्ने अवस्था थियो । त्यसकारण प्रहरीले घुस खान्छ भन्ने छवि थियो, त्यसलाई हटाउन सकिएन । प्रहरीलाई नैतिकवान् बनाउनुपर्छ भनेर नै उनको कार्यकालमा लबिङ भयो, प्रहरीको तलब बढ्यो, रासनको सुविधा सुरु भयो ।

त्यतिवेलासम्म नेपाल प्रहरीका आफ्नै घर थिएनन्, पाटी, पौवा र अर्काको घरमा जबर्जस्ती बस्थे प्रहरी । ‘हामीले सरकारलाई समस्या बुझाएर बजेट विनियोजन गरी प्रहरीलाई आवास निर्माणको काम गर्‍यौँ,’ उनी भन्छन्, ‘टाढैबाट चिन्ने गरी छुट्टै किसिमका घरहरू निर्माण सुरु भयो ।’

बराल आइजिपी हुँदासम्म प्रमाण ऐन थिएन । अपराधी पनि सहजै उम्कन सक्थे । यही समस्यालाई मध्यनजर गर्दै बरालको कार्यकालमा प्रमाण ऐन ल्याइयो । घटनाको मुचुल्का उठाउने काम सुरु भयो । पञ्चायतकालमा तल्लो तहको प्रहरीको पनि ‘सान’ थियो । प्रहरीलाई देख्नेबित्तिकै सबै सतर्क हुने अवस्था थियो ।

तर, किन फेरियो त्यो छवि ? किन हरायो प्रहरीको त्यो ‘सान’ ?

बरालसँग यसको उत्तर छ, ‘त्यो कुनै तर्कमा आधारित डर थिएन, कतिपयमा प्रहरीले राम्रो काम गर्छ भनेर परफर्मेन्समा आधारित डर थियो । प्रहरी भनेको देशको ‘फस्ट सर्भेन्ट’ हो, अपराधी मात्र प्रहरीसँग डराउने हो, अरू त प्रहरीको साथी बन्नुपर्छ ।’ प्रहरी सेवाबाट अवकाश पाएपछि बराल बर्माका राजदूत भए । पछि, राष्ट्रिय पञ्चायतको सदस्य पनि भए ।

किन बनेन देश ?

१६ वर्षको उमेरमा देशमा प्रजातन्त्रका लागि भनेर सशस्त्र संघर्ष गरेर जेल परी पछि आइजिपी हुँदै राष्ट्रिय पञ्चायतको समेत सदस्य भएका बराललाई अहिले देश अगाडि नबढेकोमा होइन, पछाडि फर्केकोमा चिन्ताले छोप्न थालेको छ ।

‘इमानदारीको कमी र राम्रो नियतको अभावले देश बन्न सकेन, अगाडि बढ्न सकेन,’ बराल भन्छन्, ‘नेता मात्र होइन, यसमा हामी सबै नेपाली दोषी छौँ, हाम्रो नियत ठीक छैन, हामीमा इमानदारी छैन, त्यही भएर अहिले सबैले दु:ख पाइरहेका छौँ । देशको हरेक क्षेत्रमा इमानदारीको कमी छ ।’

(कृष्णबहादुर तामाङको फेशबुक बाट)

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर