A+ A A-

रत्यौलीजस्तै तीजे गीत – हरिदेवी कोइराला

प्रस्तुति : मनोज घर्तीमगर

तीज मिठो नेपाली पर्व हो । तीज भन्ने बित्तिकै हामी माइती सम्झन्छौं । जन्मेको घर आगन, आमाबुवा, दाजुभाइ, मावली साथीसँगी सबै सम्झन्छौं ।

पराइ घरका पीडा ल्याएर माइत जाने । तीजका बेला घरको काम सारा छाडेरे महिला जसरी पनि माइत जान्थे । तीज नभइदेको भए फुपु र भदाको साइनो अहिलेजस्तो सुमधुर हुने थिएन । यसले पारिवारिक सम्बन्ध पनि जाडेको छ । बाबु आमाको दाजुभाई सम्बन्ध उत्तिकै जोडेको छ । अघिपछि जेजस्तो भए पनि तीजमा मिठो चिज खाने दिन थियो । तिज भनेको अपनत्व हो । माइतिको कुकुर प्यारो भन्छन् त्यस्तै तीजका बेला माइतका सबै प्यारा हुन्थे ।

तीजका धार्मिक पारिवारिक र सांगितक पाटा छन् । सबभन्दा सांगीतक पाटो बलियो छ । म सानो छँदा नाग पञ्चमी आउँदा यो पटक के गीत गाउने हो के विषयवस्तु छान्ने हो भन्ने छलफल चल्थ्यो । सामूहिक रुपमा बेलुका कुन घरमा गाउने भन्ने निर्णय हुन्थ्यो । यो सबै तीज आउनुभन्दा एक हप्ता अघि हो । खासगरी तीजमा यो गीत गाउने भनेर प्रयास गथ्र्यौ । तीज बिशुद्ध महिलाको चाड हो ।

  म बुझ्ने हुँदा पोखराका हालको टेलिकम नजिक, मालेपाटन, रामघाट, बाटुलेचौर लगायतमा ठूला चौर थिए । ती चौरमा बसेर दिदी बहिनीहरुले तीजमा गीत गाउँथे । उनीहरुले छोरी बेचेका, सासूले दुःख दिएका, पराइ घर जाँदा पाएको दुःख, श्रीमानले नपढेका लगायत विषयका गीत तीजे भाकामा गाउँथे । त्यतिबेला पुरुषहरुले हेर्थे । मादल बजाउन सहयोग गर्थे । यस्ता कार्यक्रम विभिन्न टोलटोलमा हुन्थे । सबै जान्थे कति राम्रो हुन्थ्यो । दिदी बहिनीलाई गाउन लगाउन । चिया पकाएर दिन्थे । बाजागाजा बजाउँथे । पिपल चौतारी थियो । त्यहाँ पनि नाँच्थे । तीज समाचारवाहक चाड पनि हो । त्यतिबेला माइतिले तीजे गीत मार्फत छोरीका पीडा, दुःख पाएका, श्रीमानले नपढेको, दुःख पाएको सबै कुरा बाहिर आउँथे । अघिपछि भन्न नपाएका कुरा, बेदनामार्फत तीजे गीतमा निर्धक्क भन्ने अवसर थियो । अझ त्योभन्दा ठूलो महत्व चेली र माइती सम्झने प्रक्रिया हो । त्यतिबेला वर्षमा एक पटक भए सासूसँग विदा मागेर दिदी÷फुपुलाई अघि लाएर लिने चलन थियो । अहिले आएर ठ्याक्कै उल्टो भए । कहिले तीज आउने र मायाप्रिति लाउने । कहाँ घुम्न जाने भन्नेजस्तो भयो । यहि धारमा तीज जाने हो भने भोली तीजको अस्त्वि रहँदैन ।

तीज महिलाको स्वतन्त्र पर्व हो । वर्षभरीका कुरा तीजमा भन्ने हो । बाबुलाई मेरो जोवन जान लाग्यो बिहे गरिदेउ भन्ने कुरा पनि आउँथे । तर, अहिले जसरी बजारमा छाडा गीत आएका छन् ती बिल्कुल गलत हुन् । हरेक पर्वका गीत छन् । तीजमा गाइने भनेको पर्व गीत हो । यसको महत्व धेरै छ । अरु गीत भए जस्ता शब्द गाए पनि हुने हो । तीज पर्वमा धेरै भाकाहरु छन् । मालश्री र देउसीरेसोरठी, रत्यौली जसरी पर्व गीत हुन् तीज पनि ठ्याक्कै त्यस्तै गीत हुन् । अरु पर्व गीत फेरिएनन् । तर, तीजे गीत बढी व्यवसायिक भए । अहिले तीजे गीत यति डामाडोल भए कि छायाङ्कन गरिएका गीतमा रातो साडी राखेकै भरमा तीजे गीत भए ।

तीजमा बरिलै, निराजाले, मिर्मिजालैमा, हम्क्याइलो कठै लगायतका थेगोहरु छन् । तीनले बिशुद्ध नारी भावना समेट्थे । पछिल्लो धारमा गाइएका गीतले तीजलाई खाली मायाप्रिती लाउने चाडको रुपमा विकास भयो । समयसँगै कल्चर परिवर्तन त हुन्छ तर मुल मर्म त मर्न दिनु भएन । चिन्ताको विषय लय विधान तोडियो भन्ने हो । अहिले त रत्यौली टाइपका गीत आयो । रेडियोमा सुन्दा र टिभीमा हेर्दा अहिले बज्ने धेरै तीज गीत हुन् जस्तो लाग्दैन । छायाङ्कन गर्दा रातो सारी लगाएर तीज गीत भन्न थालियो । जस्ता लयमा पनि तीज गीत बने । तीज भनेको हँस्यौली, ठट्यौली चाड होइन । हामी दाजुभाई दिदीबहिनी परिवारमा बसेर हेर्न नमिल्ने गीत आए । त्यसरी गीतको विकास भएकोजस्तो देखिदैन । उन्नतीका नाममा धेरै कुरा फरक भएका छन् ।

जस्ता गीत आए पनि मिडियाले बजाइदिए । दर्शकको काम हेर्ने हो । कलाकारले कलाकारलाई भन्नुभन्दा दर्शकले नै सोधिरहेका छन् । अहिले गलत गीत बढी भए । धेरैले भन्लान् समयको माग हो । जमानाको माग हो भनेर हामी पन्छिन मिल्दैन । हामीले कुन गीत गाएको हो । यसलाई सबैले हेर्नुपर्छ । यसबारे समाजसँग दायित्व छ कालाकारले आफ्नो अनुशासन भुल्नु भएन । समाजलाई के दिनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । कलाकार भनेको एउटा सन्देशबहाक हो । कलाकारिताको धर्म भुल्नु भएन ।

त्यसो त कलाकार पनि बाँच्नुपर्यो । कला पनि बच्नुपर्छ । राज्यले पनि कलाकार बचाउनुपर्छ । तर, व्यापारको नाममा सस्तो व्यापार पनि गर्नु भएन । कलाकारलाई बाध्यता पनि छ बाँच्नलाई । धेरै लहडमा गीत चल्यो । गीतलाई व्यवसाय नै ठाने पनि असल व्यवसायको रुपमा लिनुपर्यो । तीजको मुल मर्ममै मारेर गाउन भएन । पहिला पारिवारिक सम्बन्धबारे दिदीभाइ, दाईभाईका कुरा आउँथे गीतमा । परिवारका दुःख बेदना कहिन्थ्यो । अहिले ट्याक्क छोडेर यो मायामा बदलियो । प्रेमसँग साटियो । तीजका नाममा अश्लिलता भयो । ठट्टा गर्नेखालका गीत आए । राम्राराम्रा गीत पनि आएका छन् तर संख्या थोरै छन् ।

तिजका मर्मलाई मार्न भएन । तीजे गीतका मर्म बचाउनुपर्छ । केही मात्रमा परिमार्जन हुँदै जान्छ पूरानो भयो भनेर त्यसको लय फेर्न त भएन । ठ्याक्कै घाँटी निमाठ्ने खालको गीत ल्याउनु भएन । अर्को कुरा सबै भाकालाई तीजे गीत नभनम् । तीजको उपलक्ष्यमा ल्याइएका गीत । एक दिन अघि खानेलाई मात्रै दर भनम् । बरु पहिल्यै गर्नु छ भने तीजको उपलक्ष्यमा खाइएको दर भनम् । त्यसरी अघि गएर मौलिक भाकाहरु के हुन् भनेर खोजौं । नत्र इतिहास मेटिने काम जारी रहनेछ । अहिले महिलाहरु बढि पढेलखेका भए । व्यस्त भए । त्यसैले महिनौं अघि तीज हुन थाल्यो । यो विकृति हो । मनोरञ्जन गर्नुपर्छ तर भड्किलो रुपमा गर्नु भएन् । रचनात्मक रुपमा लाग्नुपर्छ । अहिलेका तीज गीत विकृत हुनमा संचार माध्यमको योगदान पनि धेरै छ । तीनले सँस्कृति बुझेनन् । गाउनलाई पहिलेजस्तो स्वर परिक्षा गरिदैन । सेन्सर बोर्ड भएन । पहिले एउटै गीत कति मेहनत गर्नुपथ्र्यो । रेडियो नेपालमा गीत रेकर्ड गर्न पाइन्थेन । अहिले त एउटाले यस्तो गर्यो होडबाजी पनि भयो । उहिले रेडियो नेपाल, रत्न रेकर्डिङ, म्यूजिक नेपालमा गएर रेकर्ड गर्दा लय, शब्द सबै हेर्थे । अनि बल्ल गीत गाउन पाइन्थ्यो । आजभोली प्रविधिले गर्दा जहाँ पनि गीत रेकर्ड गर्न पुगे । क्षमतालेभन्दा रहरले गायकगायिका भए । आधा गीत प्रविधिले गाइदिन्छ । कलाकार भइसकेपछि आफ्नो धर्म सम्झेर आउनुपर्छ । निर्देशक, संकलक, रचनाकारले पनि विचार गर्नुपर्छ । जे पायो त्यहि सुन्नेले पनि कलाकारलाई औंला ठड्याउनुपर्यो । हरिदेवी कोइराला संग मनोज घर्तीमगरले गरेको कुराकानीमा आधारितको अंस ।
तस्वीर : छवि मगर

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६